कुनैबेला सबै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा बोकेको सरकारी स्वामित्वको कृषि विकास बैंक अहिले भने कर्जा व्यवस्थापनमा उत्कृष्ट उदाहरण बनेको छ। बैंकले आन्तरिक सुधार, संरचनागत पुनर्गठन र प्रविधि प्रयोगमार्फत निष्क्रिय कर्जा (NPL) न्यूनस्तरमा झार्दै नाफामा उल्लेखनीय सुधार हासिल गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुसार विगत केही वर्षयता कर्जाको गुणस्तरमा सुधार ल्याउन ठूलो मेहनत गरिएको छ। यस क्रममा बैंकले ‘रियल टाइम क्रेडिट इन्फर्मेसन सिस्टम’ जडान गरेको छ, जसले दैनिक रूपमा सम्पूर्ण शाखाहरूको कर्जा विवरण, गुणस्तर र वर्गीकरणबारे प्रतिवेदन दिने गर्छ। यस प्रणालीले कर्जा असुली व्यवस्थापनलाई समेत सहज बनाएको छ।
गुरुङ भन्छन्, “पहिले व्यक्तिले नियन्त्रण गर्ने अवस्था थियो, अब सिस्टमले नै नियन्त्रण गर्छ। यही कारणले निष्क्रिय कर्जा नियन्त्रणसँगै नाफा वृद्धि भएको छ।”
गत असार मसान्तसम्म बैंकले २ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो, जसमा करिब ७ अर्ब ४ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो। तर नयाँ प्रणालीमार्फत बैंक हरेक दिन निष्क्रिय कर्जाको गणना गर्ने अवस्थासम्म पुगेको छ।
कर्जाको गुणस्तर सुधारसँगै प्रोभिजनमा छुट्याउनुपर्ने रकममा पनि ठूलो कमी आएको छ। गत आर्थिक वर्षमा २ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजन छुट्याउन बाध्य भएको बैंकले यस वर्ष भने जम्मा १० करोड रुपैयाँ हाराहारी मात्र छुट्याएको छ। यसले गर्दा बैंकको वार्षिक नाफा ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
यस्तै, उठ्न बाँकी ब्याज पनि घटेको छ। गत वर्ष ३ अर्ब ८४ करोड उठ्न बाँकी ब्याज रहेकोमा चालु वर्षमा यो रकम घटेर ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ। व्यवसाय बढ्दाबढ्दै पनि उठ्न बाँकी ब्याज कम हुनु बैंकको वित्तीय स्वास्थ्यमा सुधारको ठोस संकेत मानिएको छ।
बैंकले पछिल्लो समय मानव संसाधन विकास, नियमित अनुगमन र मूल्याङ्कन, व्यवसायको विविधिकरण (जस्तै: ऋणपत्र, प्रतितपत्र – LC) लगायतमा प्राथमिकता दिएको छ। यसले व्यवसाय विस्तारसँगै वित्तीय परिणाममा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको सीईओ गुरुङको भनाइ छ।
कृषि विकास बैंकले गत वर्ष १३ प्रतिशतले कर्जा विस्तार गरेकोमा चालु वर्षमा विस्तार दर घटाएर साढे ८ प्रतिशतमा सीमित गरेको छ। गत वर्षको असार मसान्तमा २ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ ऋण रहेकोमा यस वर्ष असार मसान्तसम्म आइपुग्दा यो रकम बढेर २ खर्ब २४ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
कुनैबेला कर्मचारी संख्या धेरै भएर आलोचना खेपेको कृषि विकास बैंक अहिले जनशक्ति व्यवस्थापन र योग्य नेतृत्वमार्फत संस्थागत सुधार गर्न सफल भएको छ।
यसरी छोटो अवधिमा नै निष्क्रिय कर्जा नियन्त्रण र नाफामा ऐतिहासिक उछाल ल्याउन सफल भएको कृषि विकास बैंकलाई सरकारी स्वामित्वको संस्थामा योग्य नेतृत्व र प्रविधि प्रयोगले कसरी वित्तीय स्वास्थ्य सुधार गर्न सकिन्छ भन्ने अनुकरणीय उदाहरणका रूपमा हेरिएको छ।