असमलाई ९ रनले हराउँदै नेपाल ‘ए’ को लगातार दोस्रो जित

नेपाल ‘ए’ क्रिकेट टोलीले असम क्रिकेट एसोसिएसनविरुद्धको पाँच टी–२० अभ्यास खेलमध्ये तेस्रो खेलमा पनि विजय हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा नेपालले ९ रनको रोमाञ्चक जित निकाल्दै सिरिजमा २–१ को अग्रता बनाएको हो।

यसअघि पहिलो खेल नेपालले डकवर्थ–लुइस प्रणालीमार्फत १५ रनले गुमाएको थियो भने दोस्रो खेलमा ९६ रनको ठूलो अन्तरले जित निकाल्दै सिरिजमा फर्किएको थियो।

शनिबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९६ रनको विशाल योगफल बनायो।
नेपालका तर्फबाट सन्दीप जोरा सर्वाधिक ७४ रन (४८ बलमा) बनाए। साथै, अदिल आलम ३५, तिर्थराज दास ३३ र कप्तान अनिलकुमार साह ३१ रन जोड्न सफल भए। असमका आकास सेनगुप्ताले दुई विकेट लिए।

लक्ष्य पछ्याउन उत्रिएको असमले २० ओभरमै १८७ रनमा सीमित रह्यो। असमका लागि निहार देका ४०, कप्तान सुमित घाडिगाउँकर ३६ र अब्दुल अजीज ३१ रन बनाए पनि टोली जित निकाल्न सकेन।

नेपालको बलिङमा उत्कृष्ट सामूहिक प्रदर्शन देखियो। कमलसिंह ऐरी, आकास चन्द, विवेककुमार यादव र बसीर अहमदले समान दुई–दुई विकेट लिए भने अदिल आलमले एक विकेट हात पारे।

यस जितसँगै नेपाल ‘ए’ सिरिजमा २–१ ले अगाडि पुगेको छ। अब दुबै टोलीबीच चौथो टी–२० खेल आइतबार साँझ हुनेछ भने निर्णायक अन्तिम खेल सोमबार खेलिनेछ।