पोखरामा ओमोडा एण्ड जेको का आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। सोही अवसरमा गण्डकी प्रदेशमा नयाँ जेको जे५ गाडी पनि सार्वजनिक गरिएको छ।
पोखराको शिवचोक–१० मा सञ्चालनमा आएको शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित झण्डै २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको छ। कम्पनीका अनुसार, यसले ग्राहकलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि सेवा गुणस्तर अझ मजबुत बनाउनेछ। सेन्टरमा कार्यरत प्राविधिकहरूलाई अनुभवी प्राविधिक र प्रतिनिधिहरूद्वारा प्रशिक्षण प्रदान गरिएको छ।
साथै, उद्घाटन समारोहमा नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित जेको जे५ पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। लक्जरी एसयुभी वर्गको यो गाडीमा १८५ मि.मि. ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्च अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, र ४८० लिटर बुट स्पेस जस्ता प्रमुख विशेषताहरू छन्।
उद्घाटन कार्यक्रममा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र प्रदेश सभा सदस्य प्रकाश बराल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिका रूपमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा सहभागी भए।
इलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले पोखरामा नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई उन्नत अनुभव प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले जेको जे५लाई अत्याधुनिक प्रविधि र दिगो गतिशीलता प्रोत्साहन गर्ने मिसनको प्रतीक पनि भने।