महालक्ष्मी विकास बैंकलाई भारतको प्रतिष्ठित “सम्पत्ति गुणस्तर” अवार्ड

ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने महालक्ष्मी विकास बैंकले भारतको इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता द्वारा प्रदान गरिएको “सम्पत्ति गुणस्तर” अवार्ड प्राप्त गरेको छ।

अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा सम्पन्न तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्ड्स कार्यक्रममा बैंकले यो सम्मान प्राप्त गरेको हो। उक्त कार्यक्रम बिमस्टेक क्षेत्रका सबैभन्दा प्रतिष्ठित बैंकिङ्ग सम्मेलन मानिन्छ, जसमा भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो।

बैंकले सम्पत्ति संरचना, सम्पत्ति परिचालनको प्रभावकारिता र सम्पत्ति गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको कारण यो सम्मान पाएको हो। बैंकले यस अवार्डले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न मद्दत पुग्ने विश्वास लिएको छ।

हालै महालक्ष्मी विकास बैंकले भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी बैंकसँग सीमा–पार वित्तीय सेवामा सहकार्य गर्दै, ग्राहकहरूले भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ।

यस अवार्ड र सीमा–पार समझदारीले महालक्ष्मी विकास बैंकको ग्राहक केन्द्रित नवप्रवर्तन र अन्तर्राष्ट्रिय वित्तीय सहकार्यमा प्रगतिलाई झल्काएको छ।