सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ५० मिनेट लामो भेटवार्ता गरेका छन्। भेटको क्रममा मोदीले गत वर्ष कजानमा भएको छलफलले दुई देशबीचको सम्बन्ध सुधारमा योगदान पुगेको बताए। उनले सीमा क्षेत्रबाट सेनाको फिर्तीपछि शान्ति र स्थिरताको वातावरण सिर्जना भएको र विशेष प्रतिनिधिहरू सीमा मुद्दामा सहमतिमा पुगेको बताए। मोदीले कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको र दुई देशबीच सिधा उडानहरू पनि पुनः सुरु भएको जानकारी गराए।
प्रधानमन्त्री मोदीले भारत–चीन सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुग्ने र यसले मानवताको कल्याणको बाटो खोल्ने पनि बताए। भेटपछि राष्ट्रपति सीले मोदीलाई भेट्न पाउँदा खुसी लागेको व्यक्त गर्दै भारत–चीनको साझेदारी महत्त्वपूर्ण भएको बताए। दुवै नेताले पारस्परिक विश्वास र सम्मानको आधारमा सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मोदी जापान भ्रमणपछि शनिबार साँझ चीन पुगेका थिए। यस भ्रमणको मुख्य उद्देश्य भारत–चीन सीमा विवाद कम गर्नु रहेको छ।
प्रधानमन्त्री मोदीले आज तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन्। यस सम्मेलनमा २० भन्दा बढी देशका नेता सहभागी छन्। मोदीले सोमबार रुसी राष्ट्रपति पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।