प्रधानमन्त्री ओलीको भियतनामका समकक्षी चिङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ।

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका उहाँहरूबीच तियान्जिन शहरमा भेट भएको हो।

भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गर्नुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका थिए। त्यस्तै तियान्जिनस्थित चाउ एन्लाई स्मृति संग्रहालयको अवलोकन गर्नुभएको थियो ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ।

त्यसपछि साँझ ७ बजे रात्रिभोजमा उहाँ पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका बाँकी ६ सदस्यसहित उपस्थित हुने कार्यक्रम छ ।