नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार उकालो लागिरहेको छ। पछिल्ला केही दिनयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँ तोकिएको छ। हिजो प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज फेरि प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो।
यसअघि हिजो मात्र प्रतितोला ३ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको थियो। लगातारको वृद्धिसँगै सुनको मूल्य ऐतिहासिक उच्चमा पुगेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उछाल आएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी आइतबार ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ।