नबिल बैंकका ग्राहकलाई एपमै ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट

नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै अब नबिल बैंकका ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत नै विदेशी यात्रा सम्बन्धी प्रमुख सुविधा लिन सक्नेछन्।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी मुलुक र क्षेत्रमा प्रयोग गर्न मिल्ने डाटा ई–सिम सेवा एपबाटै लिन सक्नेछन्। विद्यार्थी, वैदेशिक रोजगारमा जाने तथा अन्तर्राष्ट्रिय भ्रमण गर्नेले सम्बन्धित देशको डाटा प्लान सजिलै खरिद गर्न सक्नेछन्।

नायब प्रमुख कार्यकारी अधिकृत बाजगाईँका अनुसार, विदेश पुगेपछि इन्टरनेट कनेक्सनमा हुने समस्या, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने झन्झट र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यता हटाउन यो सुविधा सुरु गरिएको हो। एपमार्फत ग्राहकले आफ्नै आवश्यकता अनुसारको डाटा प्याकेज तत्काल खरिद गर्न सक्नेछन्।

त्यसैगरी, एपमार्फत अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ। संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशमा मान्य हुनेछ। एपबाट आवेदन दिएपछि १० मिनेटभित्र प्रक्रिया पूरा गर्न सकिनेछ। परीक्षा दिनु नपर्ने यो सेवामा २४ घण्टाभित्र डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा अनुमतिपत्र प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवा विद्यार्थी, वैदेशिक रोजगारमा जाने र अन्तर्राष्ट्रिय यात्रुका लागि सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउन सहयोगी हुने बताए।

निम्बज एक सुपरएप हो जसमा च्याट, भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी मूभी, डिजिटल वालेट, गेम लगायतका सुविधा उपलब्ध छन्।

नबिल बैंक भने २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिँदै आएको अग्रणी बैंक हो। चार दशकदेखि बैंकले नवीनतम सेवा सुरुवातमा अग्रणी भूमिका खेल्दै आएको छ।