ट्रम्पका सल्लाहकारले मोदीको रूस–चीन नीतिलाई लिए आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नावारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको विदेश नीति सम्बन्धमा नयाँ टिप्पणी दिएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भने, “मोदी एक महान नेता हुन्, तर मलाई बुझ्दैन कि उनी विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको नेता हुँदाहुँदै पनि पुटिन र सी जिनपिङसँग किन हात मिलाइरहेका छन्।”

नवारोले भारतीय जनतालाई सचेत हुन आग्रह गर्दै भने, “ब्राह्मणहरूले भारतीय जनताको खर्चमा नाफा कमाइरहेका छन्। हामी यो बन्द होस् भन्ने चाहन्छौं।” उनले यसअघि पनि भारतले रूसी तेल किने व्यवहारको आलोचना गरिसकेका छन्। गत हप्ता ब्लूमबर्ग टिभीलाई दिएका एक अन्तर्वार्तामा नवारोले रुस–युक्रेन युद्धलाई ‘मोदीको युद्ध’ भनेका थिए।

हाल भारतले ५० प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको छ। अमेरिकाले भारतमाथि भन्सार शुल्क लगाएको कारण रुसी तेल खरिद हो। अमेरिकाको तर्क अनुसार भारतले रुसी तेल किनेर युक्रेन युद्धमा रूसलाई आर्थिक सहयोग गरिरहेको छ। नवारोको यस टिप्पणीले भारत–अमेरिका व्यापार र कूटनीतिक सम्बन्धमा नयाँ बहस उत्पन्न हुने अपेक्षा गरिएको छ।