घरजग्गा बजार पुनः सक्रिय, बैंक कर्जा प्रवाहमा वृद्धि

केही वर्षदेखि सुस्ताइरहेको घरजग्गा बजार फेरि चलायमान हुँदै गएको देखिन्छ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास निर्माण, व्यावसायिक कम्प्लेक्स, जग्गा खरिद र प्लटिङ लगायतका क्षेत्रमा कर्जा प्रवाह तीव्र रूपमा बढाएका छन्।

सस्तो ब्याजदर, पर्याप्त तरलता र पुनः विश्वासले रियल स्टेट बजारमा सक्रियता ल्याएको हो। व्यक्तिगत घर कर्जा (१ करोड ५० लाख रुपैयाँसम्म)मा ८ प्रतिशत वृद्धि भई कुल ४ खर्ब १७ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यस क्रममा बैंकहरूले एक वर्षमा थप ३० अर्ब ५४ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

यस्तै, रियल स्टेट कर्जा पनि झन्डै ३ प्रतिशत वृद्धि भई २ खर्ब ७५ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ पुगेको छ। व्यवसायिक कम्प्लेक्समा जाने कर्जा २७.४८ प्रतिशत वृद्धि भई १२ अर्ब २ करोड ५० लाख रुपैयाँ पुगेको छ।

घडेरी खरिद तथा प्लटिङबाहेक अन्य रियल स्टेट कर्जा ५.८६ प्रतिशत वृद्धि भई १ खर्ब ६१ अर्ब ८० करोड ८५ लाख रुपैयाँ कायम भएको छ। जग्गा खरिद तथा प्लटिङमा जाने कर्जा ४.९८ प्रतिशत वृद्धि भई ६२ अर्ब ४१ करोड ५७ लाख पुगेको छ।

५० लाख वा सोभन्दा बढी स्वीकृत कर्जा पनि ७.१९ प्रतिशत वृद्धि भई ६६ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अन्य रियल स्टेट कर्जा ४.९ प्रतिशत वृद्धि भई ३२ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।

आवासीय तथा व्यवसायिक कम्प्लेक्स (अपार्टमेन्ट) निर्माणमा जाने कर्जा ०.५७ प्रतिशत वृद्धि भई ३३ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ पुगेको छ। यस क्षेत्रमा बैंकहरूले एक वर्षमा थप २ अर्ब २४ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

राष्ट्र बैंकका अनुसार सस्तो ब्याजदर, पर्याप्त तरलता र पुनः बजारमा विश्वासको कारण बैंक तथा वित्तीय संस्थाहरू घरजग्गा क्षेत्रमा सक्रिय हुँदै लगानी विस्तारमा लागेका छन्। राजधानी काठमाडौं लगायतका शहरी क्षेत्रहरूमा घरजग्गा कारोबार विस्तार हुँदै गर्दा समग्र आर्थिक गतिविधिलाई पनि ऊर्जा मिल्ने देखिन्छ।