प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।
सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँच दिने भ्रमणका लागि चीनमा पुगेका हुन्।
प्रधानमन्त्री ओलीले सम्मेलनकै क्रममा विभिन्न मुलुकका नेताहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने क्रम जारी रहेको छ। आजै उहाँले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग अलग-अलग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।
यो सम्मेलनले नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार र एससिओ सदस्य तथा साझेदार मुलुकहरूसँग राजनीतिक, आर्थिक र सुरक्षा सहयोग सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।