एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ अन्तर्गत पहिलो चरणको इकाई बाँडफाँड सोमबार सम्पन्न भएको छ।
साउन २९ देखि भदौ १२ गतेसम्म बीज पूँजीसहित रु १० अंकित दरका ५ करोड इकाई बिक्री खुला गरिएको थियो। यस अवधिमा ८२,८२८ जना आवेदकबाट करिब रु ७४,०३,१६,००० बराबरको आवेदन प्राप्त भएको थियो। माग प्रारम्भिक ५ करोड इकाईभन्दा १.४८ गुणा बढी देखिएको छ।
९१ जना आवेदकका १४,६०० इकाई रितपूर्वक नदेखिएकोले बाँडफाँडमा समावेश गरिएको छैन। बाँकी ८२,७३७ आवेदकबाट प्राप्त रु ७४,०१,७०,००० बराबरको इकाई माग अनुसार बाँडफाँड गरिएको छ। बाँडफाँड २०८२/०५/१६ गते थापाथलीस्थित क्यापिटल कार्यालयमा दिउँसो ४ः३० बजे सम्पन्न भएको छ।
हाल सार्वजनिक भएको यो ५ करोड इकाई पहिलो चरण मात्र हो। नेपाल धितोपत्र बोर्डले बीज पूँजी सहित कुल रु १ अर्ब बराबरका १० करोड इकाई बिक्री गर्न अनुमति दिएको छ। बोर्डको स्वीकृत विवरणपत्रमा अधिकतम १० करोड इकाईसम्म बिक्री गर्न सकिने स्पष्ट उल्लेख छ।
योजना खुलामुखी भएकाले बाँडफाँड मितिले तीन महिनाभित्र इकाईको खरिद–बिक्री, एसआईपी र मिनी एसआईपीको व्यवस्था सहित नियमित कारोबार सुरु हुने कम्पनीले जनाएको छ।