नेपाल प्रवेश गर्ने विदेशी नागरिकको आगमनदेखि बसोबास र गतिविधि अब राज्यको प्रत्यक्ष अनुगमनमा रहने भएको छ। अध्यागमन विभागले यसका लागि नयाँ ‘दर्ता तथा अनुगमन प्रणाली’ लागू गर्ने निर्णय गरेको हो।
विभागका अनुसार यो प्रणाली आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू हुनेछ। त्यसपछि मंसिर १ बाट यसको दायरा बढाउँदै सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स, मनी एक्सचेन्जरलगायतका संस्थामा पनि विस्तार गरिनेछ।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको सुरक्षा, अन्तर्राष्ट्रिय प्रतिष्ठा, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि विदेशी नागरिकको गतिविधि निगरानीमा रहन जरुरी छ।”
यो प्रणाली लागू भएपछि विदेशी नागरिकहरूको बसोबास अभिलेख अद्यावधिक हुने, आपतकालीन अवस्थामा उद्धारमा सहज हुने र सम्भावित अपराध नियन्त्रणमा टेवा पुग्ने विभागको दाबी छ।
साथै, विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक तथा निजी संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन अनुरोध गरिएको छ। अनुगमन सुनिश्चित गर्नका लागि ७७ वटै जिल्लामा अनुगमन समिति गठन गरी सक्रिय बनाइने विभागले जनाएको छ।