विश्वभर विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढ्दो क्रममा जापानी अटोमोबाइल कम्पनी टोयोटाले भने आफ्नो बहुप्रतीक्षित रणनीति र उत्पादन सन्तुलनको भरमा बिक्रीमा नयाँ उचाइ हासिल गरेको छ ।
कम्पनीले सन् २०२५ को पहिलो ६ महिनामा (जनवरीदेखि जुनसम्म) विश्वभर ५१ लाख ५९ हजार युनिट कार बिक्री गरेको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशतले बढी हो । यससँगै टोयोटाले फेरि एकपटक विश्वकै सबैभन्दा ठूलो गाडी निर्माता कम्पनीको हैसियतलाई मजबुत बनाएको छ ।
टोयोटाको यस सफलताको मुख्य श्रेय उत्तर अमेरिका, चीन, जापान र भारत जस्ता प्रमुख बजारलाई जान्छ भने युरोपमा पनि ५.८ प्रतिशतले बिक्री बढेको छ । तीव्र शहरीकरण, इन्धन किफायती प्रविधिप्रतिको रुचि र ब्रान्डप्रतिको उपभोक्ताको विश्वासले कम्पनीलाई थप बलियो बनाएको देखिन्छ ।
सबैभन्दा ठूलो उपलब्धि भने हाइब्रिड कारतर्फ देखिएको छ । कम्पनीका अनुसार कुल बिक्रीमध्ये करिब ४८ प्रतिशत कार हाइब्रिड प्रविधिमा आधारित छन् । यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढेको हो ।
टोयोटाका र्याभफोर, ल्यान्ड क्रूजर प्राडो, एलसी–३०० जस्ता प्रिमियम मोडलहरू नेपालमा निकै लोकप्रिय छन् भने यारिस क्रस हाइब्रिड र कोरोला क्रस हाइब्रिड जस्ता तुलनात्मक रूपमा सस्तो मूल्यका मोडलहरू काठमाडौंसहितका सहरहरूमा युवा पुस्तामाझ आकर्षण बटुलिरहेका छन् ।
हाइब्रिड सेग्मेन्टमा विश्वव्यापी मागसँगै नेपाली बजारतर्फ पनि टोयोटाले ध्यान केन्द्रित गर्न थालेको छ । जसले भविष्यमा टोयोटाको बिक्री झनै मजबुत हुने अनुमान गरिएको छ ।