प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा वाह्य शक्ति राष्ट्रहरूले ‘सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेण्ट)’ को हदसम्म प्रयास गरेको टिप्पणीसहितको राजनीतिक प्रतिवेदन विधान अधिवेशनमा प्रस्तुत गर्नुभएको छ ।
शुक्रबारबाट सुरु भएको महाधिवेशनमा उहाँले पेश गर्ने राजनीतिक प्रस्तावमा राष्ट्रवादको व्याख्या गर्दै उनले यस्तो टिप्पणी गर्नुभएको हो । उहाले ‘कतिपय असमान–अपमानजनक सन्धि यथावत रहँदा नेपालको सार्वभौमसत्तामा आँच पुगिरहेको र ‘राज्य कमजोर भएको बेला मुलुकको राजनीतिमा वाह्य चासो र हस्तक्षेप हुने गरेको’ उल्लेख गर्नुभयो ।
‘नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा बाह्य शक्ति राष्ट्रहरूले “सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट)’ को हदसम्म प्रयास पनि गरेको देखिन्छ’ अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवदेनमा राख्नुभएको छ, ‘त्यसैले नेपाललाई स्वतन्त्र, सार्वभौम र आत्मनिर्णयको अधिकारले युक्त राष्ट्रको रूपमा विश्लेषण गरिरहँदा हामीले राष्ट्रिय स्वाधीनताका यी विषयहरूमा स्पष्ट, सजग हुँदै राष्ट्रिय सार्वभौमसत्ता बलियो बनाउने अभियानलाई निरन्तरता दिनुपर्छ ।’
उहाँले राष्ट्रवादको पनि बदलिँदो परिस्थिति अनुरूप थप व्याख्या गर्नुको आवश्यकता औंल्याउदै राष्ट्रवाद मूलतः आफ्ना राष्ट्रिय हितहरूको रक्षा भएको धारणा राख्नुभयो । ओलीले नेपालको राष्ट्रवाद कुनै अमुक राष्ट्रको विरोधमाथि आधारित नरहेको ठहर गर्नुभयो ।
‘हामी स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्रको रूपमा सम्मानित ढङ्गले विश्व राजनीतिक रङ्गमञ्चमा उभिन चाहन्छौं। हाम्रा छिमेकीहरूसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक लाभ र स्वतन्त्रतामाथि आधारित सौहार्द्र सम्बन्ध विकास गर्न चाहन्छौं’ ओलीको प्रतिवेदनमा छ ।
उहाँले नेपाली भूमि कसैका विरुद्ध पनि प्रयोग हुन नदिने र अरुको भूमिबाट पनि नेपालमाथि कुनै पनि गतिविधि नहोस् भन्ने चाहेको उल्लेख गर्नुभयो ।
‘छिमेकीहरूसँगको युगौं पुरानो सम्बन्धलाई बदलिंदो समय र परिप्रेक्ष्य अनुरूप पुनर्परिभाषित र नवीकृत गर्न चाहन्छौं । यसलाई आर्थिक समृद्धिका विषयमा केन्द्रित गर्न चाहन्छौं,’ ओलीले जनाउनुभएको छ ।
नेपालको प्राकृतिक स्रोतमाथि नेपाली जनताको अधिकारलाई अक्षुण्ण राख्दै यसको लाभ अन्य छिमेकी मुलुकसँग पनि साझेदारी गर्न चाहेको ओलीको प्रतिवेदनमा छ ।