थाइल्याण्डमा युएनआईपी ग्लोरी अवार्ड २०२५ सम्पन्न, १२ देशका उत्कृष्ट व्यक्तित्व सम्मानित

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

थाइल्याण्डको राजधानी बैंककमा युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट भव्य रूपमा सम्पन्न भएको छ। विश्व शान्ति यात्राको अन्तर्गत युनाइटेड नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सेप्टेम्बर १ मा प्रिन्सटन होटलमा कार्यक्रम सम्पन्न भएको हो।

यस अवसरमा विभिन्न देशका १२ जना व्यक्तित्व र २ संस्थालाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको छ। व्यवसायिक प्रशासनतर्फ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा, पर्यटनतर्फ नेपालका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, सामाजिक सेवातर्फ म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की, हस्पिटालिटीतर्फ कम्बोडियाका लाल सिंह खड्का, व्यवसायतर्फ थाइल्याण्डकी व्यवसायी तथा पूर्व थाई–नेपाली समाज अध्यक्ष वासना राई र संस्थागत अवार्ड साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (कर्पोरेट) र युएनआईपी थाईल्याण्ड च्याप्टर (सामाजिक) सम्मानित भएका छन्।

त्यस्तै, शान्ति, वकालत, अन्तर्राष्ट्रिय सम्बन्ध, महिला सशक्तीकरण, वातावरणीय इञ्जिनियरिङ, स्वास्थ्य, खेलकुद व्यवस्थापन, साहित्य लगायतका विधामा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू सम्मानित भएका छन्। नेपाल विधामा पनि अनुसन्धान, साहित्य, महिला उद्यमशीलता, सामाजिक सेवा, व्यवसायिक नेतृत्व, संचार, कृषि उद्योग, राजनीति तथा स्थानीय शासन, सार्वजनिक सेवा, बहुक्षेत्र योगदान, आयात–निर्यात र रोजगारीमा उत्कृष्ट योगदान पुर्‍याउने १३ जना व्यक्तित्व सम्मानित भएका छन्।

कार्यक्रममा शान्ति र मानवताको क्षेत्रमा निरन्तर योगदान दिने १६ जनालाई अन्तर्राष्ट्रिय शान्तिदूत घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा वक्ताहरूले शान्ति, एकता र सहकार्यमा जोड दिएका थिए। साल्ट ट्रेडिङ कर्पोरेशनका ब्रजेश झा, कुमार कार्की, वासना राई, रामप्रसाद सापकोटा, विवेक पौडेल र दावा गुम्बो तामाङले विश्व शान्तिका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र मिडियाले सीमाना नाघ्ने शक्ति भएको उल्लेख गर्दै यसले विश्व शान्ति र समृद्धिमा योगदान पुर्‍याउने बताए। युएनआईपी बंगलादेश च्याप्टर अध्यक्ष राजु शाहले पुरस्कार शान्ति, एकता र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए।

समारोहमा शास्त्रीय नृत्य, भगवान बुद्धसम्बन्धी वृत्तचित्र प्रदर्शन र करिब सयजना प्रतिनिधिको उपस्थिती रहेको थियो। युएनआईपी नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष भिक्षु डा. राजु लामा पी. कोंन्दनले सामाजिक सेवा र मानवतावादी कार्य सबै समुदायमा समान रूपमा हुनुपर्ने धारणा राखे।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार