लाभांश सिजन सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने तयारी तीव्र पारेका छन् ।
हालसम्म दुई वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरिसकेका छन् । माछापुच्छ्रे बैंकले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयरसहित कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको लाभांश क्षमता भने ९.२३ प्रतिशत थियो ।
यता, एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसमध्ये १४ प्रतिशत नगद (करसहित) र ६ प्रतिशत बोनस सेयर रहनेछ । गत वर्ष ३८.२७ प्रतिशतसम्मको लाभांश दिन सक्ने क्षमता बनाएको एभरेष्ट यसपालि पनि उच्च लाभांश दिने अग्रणी बैंक बनेको छ ।
अब बाँकी रहेका १८ वाणिज्य बैंकमध्ये सानिमा र सिटिजन्स बैंक दशैंअघि नै लाभांश घोषणा गर्ने तयारीमा छन् । सिटिजन्स बैंकको लाभांश क्षमता ५.२५ प्रतिशत रहेको छ भने गत वर्ष ४.२१ प्रतिशत लाभांश दिएको थियो । सानिमा बैंकले गत वर्ष ५.२६३२ प्रतिशत लाभांश बाँडे पनि यस वर्ष २०.४७ प्रतिशतसम्मको क्षमता देखिएको छ । क्षमताका आधारमा एभरेष्टपछि दोस्रो उच्च स्थानमा सानिमा रहेको छ ।
अन्य ९ वटा बैंक दोहोरो अंकको लाभांश दिन सक्ने अवस्थामा देखिएका छन् । तीमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक १९.८५ प्रतिशत, कृषि विकास १८.४२ प्रतिशत, नबिल १७.६४ प्रतिशत, प्राइम १४.३३ प्रतिशत, ग्लोबल आइएमइ १४.११ प्रतिशत, सिद्धार्थ १३.२२ प्रतिशत, लक्ष्मी सनराइज १२.३४ प्रतिशत, नेपाल एसबिआई ११.२९ प्रतिशत र एनएमबि बैंक १०.४१ प्रतिशतसम्मको लाभांश क्षमता बोकेका छन् ।
यता, प्रभू बैंकको क्षमता ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्यको १.९४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाको १.४४ प्रतिशत देखिन्छ । तर, कुमारी, हिमालयन, एनआइसी एशिया र नेपाल बैंक भने ऋणात्मक नाफाका कारण लाभांश बाँड्न नसक्ने अवस्थामा छन् । गत वर्ष हिमालयनको वितरणयोग्य नाफा ७ अर्ब १० करोड ऋणात्मक, एनआइसी एशियाको ५ अर्ब २१ करोड, कुमारीको २ अर्ब ७९ करोड र नेपाल बैंकको ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक देखिएको हो ।