लामो समय सुस्त रहिरहेको नेपाली अटो बजार फेरी गतिमा फर्किन थालेको छ। सस्तो ब्याजदर र सहज हायर पर्चेज कर्जाले निजी सवारी खरिदमा नयाँ उत्साह भरेको छ भने बैंक तथा वित्तीय संस्थाहरू पनि सक्रिय देखिएका छन्।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१–८२ को तथ्याङ्क अनुसार, हायर पर्चेज शीर्षकमा कुल कर्जा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ मात्र थियो। निजी सवारी साधनका लागि कर्जा १५.६ प्रतिशत वृद्धि हुँदै ४२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३६ अर्ब ८४ करोड रुपैयाँ थियो।
तर व्यावसायिक सवारी कर्जा भने सामान्य घटेको देखिन्छ। व्यवसायिक प्रयोजनका लागि सवारी खरिदमा प्रवाह हुने कर्जा गत वर्ष ८६ अर्ब १० करोड रुपैयाँमा सीमित रहेको छ, अघिल्लो वर्षको तुलनामा १.३२ प्रतिशत कम।
ब्याजदरमा आएको गिरावटले सवारी खरिद आकर्षक बनाएको छ। बैंकहरूको औसत आधार दर ६.५ प्रतिशतसम्म झरेको छ र कर्जा लिनु परे ८ प्रतिशत हाराहारी ब्याजदरमा सुविधा पाइन्छ। हाल सवारी कर्जाको अधिकतम ब्याजदर १२ प्रतिशत भए पनि केही बैंकहरूले एकल अंकमा कर्जा उपलब्ध गराइरहेका छन्।
वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५.८२ प्रतिशत वृद्धि गर्दै कुल १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ प्रवाह गरेको छ। बैंकहरूले सवारी क्षेत्रमा सबैभन्दा ठूलो लगानी ग्लोबल आइएमई बैंकको १५ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ रहेको छ। दोस्रो स्थानमा नबिल बैंक ११ अर्ब ४३ करोड १ लाख रुपैयाँ र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक ९ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ प्रवाह गरेको छ।
सवारी कर्जा बढाउने मामलामा एभरेष्ट बैंक ५९.९२ प्रतिशत वृद्धि गर्दै ५ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ। नेपाल एसबिआई बैंक ४६.६०%, कृषि विकास बैंक ३८.३६%, सानिमा बैंक २३.१३% र एनएमबि बैंक १४.४८ प्रतिशतले कर्जा बढाएका छन्।
तर १० बैंकले हायर पर्चेज कर्जा घटाएका छन्। एनआइसी एशिया बैंकको कर्जा ४०.१९ प्रतिशत घटेको छ। त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड ३८.६०%, कुमारी बैंक २८.२५%, लक्ष्मी सनराइज १३.८०%, माछापुच्छ्रे १३.४%, हिमालयन ४.०२%, सिद्धार्थ २%, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १.९०%, प्रभू ०.६०% र सिटिजन्स ०.०६ प्रतिशत घटेको देखिन्छ।