काठमाडौं स्टिलको कारोबार ९ महिनामै साढे २ अर्ब नाघ्यो

केही वर्षयता सुस्त देखिएको नेपाली स्टिल उद्योग फेरि गतिशील बन्न थालेको छ। भाटभटेनी समूहका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङद्वारा प्रवर्द्धित काठमाडौं स्टिलको कारोबार पनि तीव्र गतिमा उकालो लागेको छ।

आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को ९ महिनामा काठमाडौं स्टिलले २ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.८४ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीको कारोबार १ अर्ब ८१ करोड ७० लाख रुपैयाँ मात्र थियो।

कम्पनीको कारोबार सन् २०२१ पछि लगातार घट्दै आएको थियो। सन् २०२१ मा ३ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब २३ करोड ६० लाख रुपैयाँ मात्र गर्न सकेको थियो। सन् २०२३ मा कारोबार झरेर १ अर्ब ७० करोड ३० लाखमा सीमित भएको थियो। तर पछिल्लो वर्षदेखि फेरि कारोबार बढ्दै गएको छ। चालु आवमा कम्पनीले ३ अर्ब बढी कारोबार गर्ने अनुमान गरिएको छ।

काठमाडौं स्टिल सन् २००९ मा स्थापना भई सन् २०१३ देखि व्यवसायिक उत्पादन सुरु गरेको हो। कम्पनीले हाल डण्डी र बाइन्डिङ तार उत्पादन गर्दै आइरन बिलेट भारतबाट आयात गरी नेपाली बजारमा आपूर्ति गर्दै आएको छ। यसको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन रहेको छ।

उद्योगले उत्पादन क्षमता र मूल्य अभिवृद्धि बढाउन नयाँ मेल्टिङ प्लान्ट निर्माण थालिसकेको छ। १ अर्ब ७७ करोड १० लाख रुपैयाँ लगानीमा बन्न लागेको यस प्लान्टमा ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटी रहनेछ। हालसम्म ११ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकीका लागि बैंकहरूसँग कर्जा प्रक्रिया अगाडि बढाइएको कम्पनी स्रोतले जनाएको छ।

यसका लागि कम्पनीले ४ अर्ब ६१ करोड १४ लाख रुपैयाँ कर्जाको रेटिङ गराएको छ। इक्रा नेपालका अनुसार, दीर्घकालीन तर्फ २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ र अल्पकालीन तर्फ २ अर्ब ४३ करोड ५० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गरिएको छ।

कम्पनीमा भाटभटेनी समूहको प्रमुख लगानी रहेको छ। स्वामित्व संरचनामा सावित्री घले (मीनबहादुर गुरुङकी पत्नी) को २० प्रतिशत, मीनबहादुर गुरुङको १९ प्रतिशत र भाटभटेनी सुपरमार्केटको १८ प्रतिशत हिस्सा रहेको छ।