बर्दघाट सुस्तापश्चिम नवलपरासीमा जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ भने नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माका अनुसार मृत्यु हुनेहरू बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतापापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुष हुन्। उनीहरूको मृत्यु विगत डेढ महिनाभित्र भएको हो। ती सबै वृद्ध व्यक्तिहरूले जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप नलगाएका थिए।
जिल्लामा हाल नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। सरसफाइ नहुँदा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।
निमित्त प्रमुख शर्माले बताए अनुसार, “जापानीज इन्सेफ्लाइटिस् र डेङ्गी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई लामखुट्टेले टोकेर मानिसमा सङ्क्रमण फैलाउँछ। एडिस एजिप्टी प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा डेङ्गी फैलाउँछ।”
डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षणहरूमा उच्च ज्वरो, टाउको दुखाइ, आँखा पछाडि दुखाइ, स्नायु र मांसपेशी दुख्ने र खाना नखाने जस्ता लक्षण देखिने जानकारी दिए। समयमै उपचार नपाएमा सङ्क्रमितको मृत्यु हुन सक्ने चेतावनी उनले दिएका छन्।
जापानीज इन्सेफ्लाइटिस् भने व्यक्तिको मस्तिष्कमा असर गर्ने गम्भीर रोग हो। डाक्टर होदाका अनुसार, यो क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ। रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात, रिङटा लाग्ने, बेहोस हुने र मृत्युसम्म हुन सक्ने जोखिम हुन्छ।
स्थानीय तहहरूले लामखुट्टे नियन्त्रण र डेङ्गीको रोकथामका लागि जनचेतना अभियान सुरु गरिसकेका छन्। स्वास्थ्यकर्मीहरूले सरसफाइ कायम राख्न, खोप कार्यक्रममा सहभागी हुन र लक्षण देखिएमा तुरुन्त उपचार गराउन आम नागरिकलाई सचेत गराएका छन्।