सिड्नीमा ‘नेपाल टेक रोडशो २०२५’ सम्पन्न, नेपाल–अस्ट्रेलिया आईटी सहकार्यको अवसरहरू बृद्धि

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी)ले आयोजना गरेको ‘नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५’ सिड्नीस्थित राइड्जेस वर्ल्ड स्क्वायरमा भव्यताका साथ सम्पन्न भएको छ।

यस रोडशोले नेपाल र अस्ट्रेलियाका प्रविधि क्षेत्रका अग्रणी, आविष्कारक, उद्यमी र लगानीकर्ताहरूलाई एकै ठाउँमा भेला गराएको थियो। मुख्य उद्देश्य नेपालको आईटी र सफ्टवेयर क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्दै दुई देशबीच सहकार्य र लगानीका अवसरहरू सिर्जना गर्नु रहेको थियो।

कार्यक्रमको सुरुवात अतिथिहरूको दर्ता र परिचय सत्रबाट भएको थियो। क्विकफक्स कन्सल्टिङ प्रालिका प्रमुख व्यवसाय अधिकृत सुश्री सोणा सिंहले कार्यक्रम सञ्चालन गरेकी थिइन्। उद्घाटन मन्तव्य टेकक्राफ्ट इंक प्रालिका सह-संस्थापक अनिश श्रेष्ठले दिएका थिए।

त्यसपछि ईके सोलुसन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत र नास आईटी अध्यक्ष गौरव पाण्डेले नेपालको विकासशील प्रविधि इकोसिस्टमबारे विस्तृत प्रस्तुति दिएका थिए।

कार्यक्रमको अर्को महत्वपूर्ण भाग “अस्ट्रेलियाली र नेपाली प्रविधि इकोसिस्टमबीच सहकार्य र लगानीका अवसरहरू” विषयमा भएको प्यानल छलफल थियो। यसमा दुवै देशका उद्योग अगुवाहरूले चुनौती, सम्भावना र सहकार्यका लागि आवश्यक कदमहरूबारे बहस गरे। सत्र एमिनेंस वेज प्रबन्ध निर्देशक नारायण कोइरालाले सञ्चालन गरेका थिए।

प्यानलमा रारा ल्याब्सका सह-संस्थापक मनोज घिमिरे, ईबी पर्लका क्रिएटिभ डाइरेक्टर माइकल सिग्नल, र MTX APAC का प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य सहभागी थिए। यसले नेपाली र अस्ट्रेलियाली कम्पनीहरूबीच सहकार्य र लगानीका अवसरहरूबारे गहिरो अन्तरदृष्टि प्रदान गरेको थियो।

कार्यक्रमको समापन रात्रिभोजसहितको अनौपचारिक नेटवर्किङ सत्रबाट भएको थियो, जहाँ सहभागीहरूले विचार आदानप्रदान र सम्बन्ध विस्तार गर्ने अवसर पाएका थिए।

यस कार्यक्रमले नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि परिदृश्य, स्टार्टअपहरूले प्रस्तुत गरेका नविन समाधानहरू र अस्ट्रेलियामा सहकार्य तथा लगानीका सम्भावनाबारे सहभागीहरूलाई गहिरो जानकारी प्रदान गरेको छ।

रोडशो एनसेलबिजनेशको सहयोगमा सम्पन्न भएको थियो। नास आईटीले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्दै नेपालको विश्वव्यापी प्रविधि उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा राखेको छ।