भट्टराई: जेनजी आन्दोलन शान्तिपूर्ण दिशामा सकारात्मक

पूर्व प्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले जेन–जीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु सकारात्मक भएको बताएका छन्।

भट्टराईले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्व वा अल्पज्ञानी जनसाधारणले देश संविधानविहीन वा राज्यविहीन शून्यतामा पुगेको बताउन खोजे पनि त्यसो नभएको स्पष्ट पारे। उनले भने, “सरकारले राजीनामा गरे पनि लोकतन्त्रका आधारभूत अङ्गहरू—संविधान, संसद, राष्ट्राध्यक्ष, राज्यका स्थायी अङ्गहरू—यथावत् कायम छन्। तिनमा टेकेर नयाँ नेपालका अगुवा जेन–जी अघि बढ्नेछन्। नत्र भुईँको टिप्न खोज्दा पोल्टाको खस्ने खतरा हुन्छ।”

उनले तत्कालको जरुरी विषय आन्दोलनमा उठेका मागहरूको सम्बोधन र छिटो नयाँ आमचुनावका लागि आन्दोलनकारीहरूको सिफारिस र सहभागितामा अन्तरिम सरकार गठन रहेको बताएका छन्। भट्टराईले यस कार्यलाई विद्यमान संविधानभित्रै गर्नुपर्ने भन्दै अन्यथा ठूलो अनिष्ट हुन सक्ने चेतावनी दिएका छन्।

https://www.facebook.com/share/19SCqcEkWY/