जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आन्दोलनको क्रममा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, “जो जोले गोली हाने, म उनीहरूलाई एक जनालाई पनि छाड्दिन। हरेक भ्रष्टाचारीको घरघरबाट एक–एक रुपैयाँ निकाल्नेछु। विश्वले थाहा पाओस् नेपाल कसरी बन्छ।”
गुरुङले आन्दोलनमा घाइते भएका नागरिकको पीडा उल्लेख गर्दै न्याय नदिई पछि नहट्ने बताए। उनले भ्रष्टाचार र राजनीतिक विफलताले मुलुकलाई सताएको भन्दै प्रश्न उठाए, “यति सुन्दर देश किन यो अवस्थामा पुग्यो? भाइबहिनीहरू विदेश गएकै छन्, के नेपाललाई वृद्धाश्रम बनाउने?”
उनले दलहरूको विभाजनकारी राजनीति प्रति आक्रोश व्यक्त गर्दै जेनजी आन्दोलनलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरको रूपमा लिँदै भ्रष्टाचारमाथि दृढ कदम चाल्ने दोहोर्याए। गुरुङले सबै पक्षलाई एकजुट भएर देश निर्माणतर्फ अगाडि बढ्न पनि आह्वान गरे।