अमेरिकी सिनेटर जीन शाहिन (डेमोक्र्याट–न्यु ह्याम्पसायर) र भ्यान होलेन (डेमोक्र्याट–मेरील्यान्ड) ले हालै नेपालमा भएको हिंसा र जनहानिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सिनेटको परराष्ट्र सम्बन्ध समिति (Senate Foreign Relations Committee) का तर्फबाट जारी वक्तव्यमा उनीहरूले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धका कारण सुरु भएका विरोध प्रदर्शनमा सयौँ घाइते र २० भन्दा बढी नेपाली नागरिकको मृत्यु भएको समाचारप्रति दुःख प्रकट गरेका छन्।
वक्तव्यमा भनिएको छ, “हालै नेपालमा भएको हिंसा, जनहानि र विनाश अस्वीकार्य छन्। हामी पीडित र उनका परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं। सबै पक्षलाई संयमता अपनाउन र नागरिकमाथि disproportionate बल प्रयोगको पूर्ण जवाफदेही सुनिश्चित गर्न आग्रह गर्दछौं।”
सिनेटरहरूले नेपालले पछिल्ला दुई दशकमा प्राप्त गरेका महत्वपूर्ण लोकतान्त्रिक उपलब्धिहरू जोगाउन आवश्यक रहेको उल्लेख गर्दै शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रता कायम रहनु पर्नेमा जोड दिएका छन्। साथै, भ्रष्टाचार र संस्थागत कमजोरी समाधान नगरेसम्म जनविश्वास कमजोर हुने चेतावनी पनि वक्तव्यमा गरिएको छ।
उनीहरूले नेपालको लोकतान्त्रिक र स्थिर भविष्य केवल नेपाली जनताको मात्र नभई अमेरिकासहित सम्पूर्ण क्षेत्रको हितमा हुने बताए।