जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज शनिबार पनि जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फयुआइतबारसम्म जारी रहने जानकारी दिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कफ्र्यू लाग्ने पनि जानकारी गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ६ः०० बजे देखि ११ः०० बजे र बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म आवतजावत गर्न अनुमति दिइएको छ ।
एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्र सहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्न सकिने छ।
नेपालमा अन्तरिम सरकार गठनको भारत र बेलायतद्वारा स्वागत
सरकारी कार्यालय, बैङ्क र वित्तीय संस्थाका कर्मचारीहरू परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।
यसैबीच रामेछापमा आज साँझ पनि कफ्र्यु लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कफ्र्यु लगाएका छन् । सुरक्षा अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।
जिल्ला सदरमुकाम मन्थली र पुराना सदरमुकाम रामेछाप बजार क्षेत्रमा कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । मन्थलीमा अधिकांश प्रशासनिक भवन र वित्तीय संस्थाहरू रहेका छन् ।
त्यस्तै रामेछाप बजारमा कारागार, सेनाको ब्यारेक, अस्पताल लगायतका सरकारी संरचना र ब्यारेक रहेको छ । रामेछाप कारागारमा बिहीबार भएको झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको तियो भने १२ जना घाइते भएका थिए ।
यसको साथै जिल्लाका गाउँपालिका केन्द्रहरूमा यस अघि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ ।