पाकिस्तानले जितबाट एसिया कपको सुरुवात गरेको छ। दुबईमा शुक्रवार पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गर्यो।
मोहम्मद हारिसले ४३ बलमा ६६ रन बनाएपछि २ पटकको च्याम्पियन पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो। त्यसपछि ओमानलाई १६।४ ओभरमा ६७ रनमा अलआउट गरायो।
पाकिस्तानले सहज जित भने पाएन । तर यो वर्षको प्रतियोगितामा यो ठूलो जित हात पारेका प्रमुख टोलीको चौथो उदाहरण बन्यो। यसअघि भारतले युएईलाई ५७ रनमै अलआउट गर्दै ९ विकेटले जितेको थियो ।अफगानिस्तानले हङकङलाई ९४ रनले र बंगलादेशले ७ विकेटले हराएका थिए।
ओपनर साइम अय्युब र कप्तान सलमान आघा पहिलो बलमै शून्यमा आउट भए। हारिस १३औँ ओभरमा स्पिनर आमिर कलिमको बलमा आउट भएपछि पाकिस्तानको गति रोकियो । तेस्रो विकेटको रुपमा हारिस बाहिरिँदा टोलीको स्कोर १ सय २ थियो। ओमानका कलिमले ३१ रन खर्चेर ३ विकेट लिए।
गत वर्षको टि- ट्वान्टी विश्वकपमा खेलिसकेको र आउँदो वर्ष २०२६ को विश्वकपका लागि एसिया क्वालिफायर खेल्ने ओमानले जवाफी ब्याटिङमा ४१(२ सम्म राम्रो सुरुआत गरेको थियो। तर त्यसपछि १० रनभित्र ७ विकेट गुमायो । त्यसबीचमा २६ रन थप्दा इनिङ ६७ रनमै टुङ्गियो।
पाकिस्तानी फाहिम अशर्फले २ विकेट ६ रनमा, सु्फियान मुकीमले २ विकेट ७ रनमा र अय्यूबले अफस्पिनमा २ विकेट ८ रनमा लिए।
पूर्व कप्तान बाबर आजम र मोहम्मद रिजवानलाई यसपटक टोलीमा नराखेको पाकिस्तानले आइतवार दुबईमै भारतविरुद्ध खेल्नेछ।