प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई अहिले बधाइ नदिन आग्रह गरेकी छन्।
अहिले निकै अप्रिय अवस्थाबाट आफू प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकाले आफ्नो कार्यकाल सकिएपछि मात्र मूल्यांकन गरिदिन उनको अनुरोध छ।
उनले आज शनिबार काठमाडौँका विभिन्न अस्पतालमा रहेका जेन-जी आन्दोलनका घाइतेहरुलाई भेटेकी थिइन्। राष्ट्रिय ट्रमा सेन्टर हुँदै निजामती कर्मचारी अस्पताल र अन्य घाइते रहेका अस्पतालका शय्यामै पुगेर उनले घाइतेहरुको अवस्थाबारे जानकारी लिइन्। शान्त्वना दिइन्। भएको क्षतिप्रति दुःख व्यक्त गरिन्। अनि जेनजी आन्दोलनका लागि ज्यानको बलिदानी दिन मैदानमा उत्रिएका प्रत्येक युवाको भावनाभन्दा बाहिर नजाने वाचा गरिन्।
घाइतेहरुले कार्कीलाई पहिलो महिला प्रधानमन्त्री भएर जसरी इतिहासमा नाम लिएको छ, त्यसै गरी जेनजीको भावनाअनुसार काम गरी अर्को इतिहास रच्न शुभकामना दिए।
‘आन्दोलनले जुन जिम्मेवारी र म्यान्डेट दिएको छ, त्यो पूरा गरेर इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिने गरी काम गर्न सफलता मिलोस्, हाम्रो शुभकामना छ,’ ट्रमा सेन्टरको शय्याबाट एक जना घाइतेले भने।
जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मलाई कसैले बधाइ नभनोस्। मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्र कामका आधारमा मूल्यांकन होस्।’
भोलि मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा