खरानीमै सेवा: जलेका प्रहरी चौकीबाटै सुरक्षाकर्मीको काम सुरु

भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा देशभरका अधिकांश प्रहरी चौकीहरूमा आगजनी र तोडफोड भएपछि सुरक्षाकर्मीले जलेका भवनमै सेवा सुरु गरेका छन्। आन्दोलनकारीको निशानामा परेका चौकीहरू जलेर खरानी भए पनि प्रहरी जवानहरूले आफ्नो कर्तव्य रोकेका छैनन्।

शनिबार दरबारमार्ग प्रहरी चौकी पुग्दा सुरक्षाकर्मीहरू जलेका गाडी र अन्य सामान हटाउँदै नागरिक सेवा सञ्चालनमा जुटिरहेका देखिन्थे। प्रहरी अधिकारीका अनुसार “कमसेकम ड्रेस तत्काल आवश्यक छ, अन्य व्यवस्था क्रमशः मिलाउनेछौँ।”

आन्दोलनकारीले लुटपाट र आगजनी गरेर ठूलो क्षति पुर्‍याएपछि अहिले चौकी र कार्यालयहरूमा सरसफाइ अभियान चलिरहेको छ। ट्राफिक प्रहरी कार्यालय दरबारमार्ग पनि पुनः सञ्चालनको तयारीमा छ। आगजनीका कारण करोडौँको क्षति भएको कार्यालय पुनर्निर्माणका लागि सरकारी निकाय र स्थानीयवासी दुवैको सहयोग आवश्यक रहेको बताइएको छ।

२०८२ भदौ २३ देखि सुरु भएको सरकारविरुद्धको जेनजी आन्दोलनले देशभरका प्रहरी संरचनामा ठूलो क्षति पुर्‍याएको छ। जलेर खरानी भएका भवन जोखिमयुक्त भए पनि जनहितका लागि सुरक्षाकर्मीले त्यहीँबाट सेवा दिन बाध्य भएको बताएका छन्।