बालअधिकार सुनिश्चित गर्न सबैको संयुक्त जिम्मेवारी : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, गैरसरकारी संस्था, नागरिक समाज, अभिभावक, विद्यालय तथा सरोकारवाला सबैको समन्वित भूमिका आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले अझै पनि केही बालबालिकाले आफ्नो अधिकार पाउन नसकेको सुन्नु सामान्य भएको उल्लेख गर्दै सबै किसिमका अमानवीय व्यवहार, हिंसा र दुर्व्यवहार रोक्नु सरोकारवालाको साझा जिम्मेवारी भएको बताए।

संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि (CRC) मा नेपालले हस्ताक्षर गरेको दिनको सम्झनामा हरेक वर्ष भदौ २९ मा राष्ट्रिय बाल दिवस मनाइन्छ। यस वर्षको नारामा “बालबालिकामा लगानी: सुरक्षित भविष्यको सुरुवात” भन्ने सन्देश राखिएको छ।

राष्ट्रपति पौडेलले बालबालिकाको हितलाई प्राथमिकता दिँदै समाज र राज्यलाई सचेतपूर्वक काम गर्न प्रेरित गर्ने दिनको रूपमा यस दिवसको महत्व रहेको बताए। उनले सृजनशील, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पौष्टिक आहार, सुरक्षित खानेपानी र सरसफाइ, आवश्यक खोप तथा बालमैत्री स्वास्थ्य संस्था र नीति–कानुनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

“सबै समुदायका बालबालिकाका लागि सुरक्षित घर, विद्यालय र समाज निर्माण गरेर समान अवसर सुनिश्चित गर्न यो दिनले प्रेरणा दिन सकोस्,” राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ।