देशभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण सेवा अनिश्चितकालका लागि बन्द भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
सूचनामा उल्लेख अनुसार, लाइसेन्स छपाइ र वितरणसँग सम्बन्धित सूचना प्रविधिका सम्पूर्ण प्रणालीहरू हाललाई बन्द गरिएको छ। विभागका अनुसार पछिल्ला विरोध प्रदर्शनका क्रममा तोडफोड, आगजनी, चोरी र लुटपाटका घटनाले विभागको इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरहरूमा गम्भीर क्षति पुर्याएको छ।
यसको प्रत्यक्ष असरका कारण अहिले सवारी चालक अनुमतिपत्रको छपाइ, वितरण र विद्युतीय सवारी दर्ता सम्बन्धी सम्पूर्ण सेवा पूर्ण रुपमा अवरुद्ध भएको विभागले स्पष्ट पारेको छ।
विभागका एक अधिकारीका अनुसार, “प्रणाली पुनःस्थापना गर्न समय लाग्नेछ। सर्भर र उपकरणहरु पूर्णरूपमा जलेका वा नष्ट भएकाले तत्काल सेवा सञ्चालन असम्भव देखिन्छ।”
हाल नयाँ लाइसेन्सका लागि आवेदन दिएकाहरू, परीक्षा उत्तीर्ण गरेर पर्खिरहेका सेवाग्राहीहरू तथा लाइसेन्स नवीकरणको प्रक्रियामा रहेका व्यक्तिहरू सबै प्रभावित भएका छन्। विभागले सेवाग्राहीलाई अस्थायी रुपमा धैर्य गर्न अनुरोध गर्दै प्रणाली पुनःसञ्चालन भएपछि जानकारी गराइने बताएको छ।
यसअघि जेन–जी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित विभिन्न स्थानका सरकारी संरचनामा तोडफोड र आगजनी भएको थियो। सो क्रममा अदालत, सरकारी अफिसदेखि लिएर यातायात कार्यालयका डिजिटल प्रणालीहरू पनि लक्ष्य बनेको विभागले जानकारी दिएको हो।