हालैको आन्दोलनका क्रममा भएको तोडफोडले एनसेल नेपालका विभिन्न कार्यालयमा गम्भीर क्षति पुर्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंस्थित मुख्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयमा ठूलो भौतिक नोक्सानी पुगेको छ। घटनाले कर्मचारीहरूको सुरक्षा समेत संकटमा पारिएको एनसेलले जनाएको छ।
यस्ता कठिन परिस्थितिमा पनि कम्पनीले आफ्नो मूल उद्देश्य—देशभर निरन्तर दूरसञ्चार सेवा—लाई प्रभावित हुन दिएको छैन। सेवाग्राहीप्रति कृतज्ञता स्वरूप एनसेलले आन्दोलनपछिका तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराएको थियो। दुई दशकदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउँदै आएको कम्पनीले ग्राहकप्रतिको समर्पण अझ दृढ रहेको स्पष्ट पारेको छ।
अन्तरिम सरकारको नेतृत्वमा नयाँ राजनीतिक अध्याय सुरु भएको अवसरमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ। युवाहरूको अगुवाइमा भएको परिवर्तनलाई स्वागत गर्दै कम्पनीले यो परिवर्तनले देशमा एकता, शान्ति र समृद्धिको नयाँ युग ल्याउने विश्वास व्यक्त गरेको छ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणमा एनसेलको भूमिका उल्लेखनीय रहेको कम्पनीको भनाइ छ। आगामी दिनमा अझ सशक्त रूपमा देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा पनि एनसेलले व्यक्त गरेको छ।