चालु खातामा साउनमै ७८ अर्बको बचत

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा सरकारको चालु खाता रु.७८ अर्ब १४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो बचत रु.३३ अर्ब ८ करोड मात्र थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा यस्तो तथ्याङ्क उल्लेख गरिएको हो।

अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा २५ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोड डलरले बचतमा पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब ४ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु.२२ करोड मात्र थियो। त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६९ करोड भित्रिएको छ, अघिल्लो वर्षमा भने यो रकम रु.८० करोड थियो।

यस अवधिमा शोधनान्तर स्थिति समेत रु.८९ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा यो बचत अघिल्लो वर्षको ३१ करोडबाट बढेर ६४ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।