भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका क्रममा सिंहदरवार र आसपासका सरकारी कार्यालयमा ठूलो संख्यामा सवारी साधन जलाएर नष्ट भएका छन्। प्रारम्भिक तथ्याङ्कअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र सरकारी निकायका कुल १ हजार ४२ वटा सवारी साधन जलेका छन्।
तथ्याङ्क अनुसार, ४४१ वटा साना गाडी र बस तथा ६०१ वटा मोटरसाइकल र स्कुटर जलेका छन्। सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्षति भएको देखिन्छ। यस कार्यालयमा ४७ वटा साना गाडी र बस तथा ७४ वटा मोटरसाइकल र स्कुटर जलेका छन्।
अर्थ मन्त्रालयमा ३६ वटा गाडी र ५४ वटा दुईपांग्रे सवारी जलेका छन् भने गृह मन्त्रालयमा २५ वटा गाडी र ३० वटा बाइक/स्कुटर नष्ट भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २६ वटा गाडी र ४७ वटा दुईपांग्रे जलेका छन्।
युवा तथा खेलकुद मन्त्रालयमा १९ वटा गाडी र २३ वटा दुईपांग्रे, संघीय संसदमा १८ वटा गाडी र ३६ वटा दुईपांग्रे, वन तथा वातावरण मन्त्रालयमा १७ वटा गाडी जलेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ९ वटा गाडी र ३९ वटा दुईपांग्रे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३३ वटा साना गाडी, २ वटा बस र ३६ वटा बाइक/स्कुटर जलेको प्रारम्भिक तथ्याङ्क छ।
सर्वोच्च अदालतमा कार्यालय जलेसँगै ५१ वटा गाडी नष्ट भएका छन् भने बाइक/स्कुटरको संख्या गन्न नसकिने अवस्थामा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २२ वटा गाडी र १४ वटा दुईपांग्रे, सहरि विकास तथा भवन विकास विभागमा ५० वटा गाडी र अनुमानित २०० वटा दुईपांग्रे जलेका छन्।
सडक विभागमा ६५ वटा गाडी जलेका छन् भने दुईपांग्रेको संख्या गन्न नसकिने अवस्थामा छ। महान्यायाधिवक्ताको कार्यालयमा २ साना गाडी र १ बस, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा १८ वटा गाडी र २९ वटा दुईपांग्रे, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ९ वटा बाइक/स्कुटर जलेको तथ्याङ्क छ।