गण्डकीमा जेनजी आन्दोलनले बीमा दावी १ अर्ब १३ करोड

जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीका कारण गण्डकी प्रदेशका विभिन्न बीमा कम्पनीहरूमा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको दावी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणले भदौ ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म डेढ सयभन्दा बढी दावी परेको जनाएको छ।

सबैभन्दा धेरै दावी हिमालयन एभरेष्ट इन्स्योरेन्समा दर्ता भएको छ । उक्त कम्पनीमा ५० करोड रुपैयाँ बराबरका ९ वटा दावी पेश भएका छन्। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५ करोड रुपैयाँ बराबरका ५० वटा दावी पुगेका छन्।

अन्य कम्पनीमा क्रमशः राष्ट्रिय बीमामा ७ करोड (२० दावी), सिद्धार्थ प्रिमियरमा ५ करोड (१५ दावी), नेकोमा ४ करोड ४५ लाख (१६ दावी), आइजीआइ प्रुडेन्सियलमा ३ करोड १५ लाख (३ दावी), ओरियण्टलमा ३ करोड (१३ दावी), सानिमा जिआइसी र युनाइटेड अजोडमा २–२ करोड (११ र ६ दावी) दर्ता भएका छन्।

त्यस्तै, एनएलजी इन्स्योरेन्समा ८० लाख बराबरका ६ दावी, शिखरमा ७५ लाखका ५ दावी र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाखका ५ दावी पेश भएका छन्। हालसम्म नेपाल इन्स्योरेन्स, नेशनल, प्रभू, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रष्ट माइक्रो इन्स्योरेन्समा भने कुनै दावी दर्ता भएको छैन।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनकै कारण निर्जीवन बीमा क्षेत्रमा अझै अरबौं रुपैयाँ बराबरको दावी पर्न सक्ने अनुमान छ। बीमा कम्पनीहरूले क्षतिको विस्तृत विवरण संकलनको कार्य जारी राखेका छन्।