अदालतको आदेशपछि अध्यक्ष ओझा पुनः पदस्थापित

सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनः पदमा फर्किएका छन्। मंगलबार अदालतको आदेशपत्र प्राप्त गरेसँगै ओझा प्राधिकरण कार्यालयमा हाजिर भएका हुन्।

प्राधिकरणका निर्देशक पुजन ढुंगेल ‘अधिकारी’का अनुसार आजदेखि ओझाले नियमित रूपमा काम सुरु गरेका छन्। अघिल्लो सोमबार (भदौ २३) सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले सरकारको बर्खास्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले ओझालाई तत्काल हटाउने सरकारको निर्णय र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया दुवैलाई यथास्थितिमा रोक्न आदेश दिएको हो।

चार महिना मात्रै पदमा रहेर काम गरेका ओझालाई कार्यसम्पादन कमजोर भएको भन्दै सरकारले बर्खास्त गरेको थियो। सो निर्णयविरुद्ध ओझाले आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए। अदालतको आदेशपछि उनी पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगेका हुन्।