लगातारको वर्षापछि खसेको पहिरोका कारण देशका दुई प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा गएराति ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार उक्त पहिरो पन्छाउन समय लाग्नेछ। गगने खोला क्षेत्र पहिरोको लागि संवेदनशील मानिन्छ, जहाँ यसअघि पनि पटक–पटक सडक अवरुद्ध हुँदै आएको थियो।
यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित नारायणगढ–मुग्लिन सडकखण्डमा पनि मंगलबार साँझ ८ः५० बजे पहिरो खसेर सडक पूर्णरूपमा बन्द भएको छ। मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम जारी छ भने थप लोडर र मेसिन ल्याउने तयारी भइरहेको छ। पहिरो हटाउन कम्तीमा २ घण्टा लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, पृथ्वी राजमार्गको घोप्टे भीरमा पनि पहिरो खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी खोलामा पहिरो पन्छाइएको छ र अहिले त्यो खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
हाल पनि पहिरो प्रभावित क्षेत्रमा वर्षा जारी रहेकाले थप पहिरोको जोखिम उच्च रहेको छ। राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।