कामना सेवा बैंकले असोज २४ मा साधारण सभा बोलायो

कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्नका लागि १९औँ वार्षिक साधारण सभा असोज २४ गते शुक्रबार बिहान ११ बजे काठमाडौँको लिसारा रिसेप्शन, भगवती बहाल, नक्सालमा आयोजना गर्न लागेको छ।

सभामा बैंकले हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव प्रस्तुत गर्नेछ।

साधारण सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्ताव पनि पारित हुनेछन्।

लाभांश वितरण र साधारण सभामा सहभागिताका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्नेछ। यसको अर्थ, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।