गरिमा बैंकले मोबाईलमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

ग्राहकहरू नजिकैको शाखा कार्यालयमा गएर फारम भरेपछि आफ्नो मोबाईल बैंकिङ एपमा यो सुविधा सक्रिय गर्न सक्नेछन्। यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले फोनपेको कुनै पनि क्यूआर कोड वा फोनपे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

यो कार्डमा न्यूनतम रु. १०,००० देखि अधिकतम रु. १,००,००० सम्म क्रेडिट सीमा रहेको छ। ग्राहकहरूले भुक्तानीका लागि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम प्रयोग गर्न सक्नेछन्। साथै, १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प पनि उपलब्ध छ।

भौतिक कार्ड नभई मोबाईल एपमा मात्र उपलब्ध हुने यस सेवाले ग्राहकलाई सुरक्षित र आधुनिक भुक्तानी अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

हाल गरिमा विकास बैंक देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउण्टर, ५१ एटिएम र नवीनतम डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।