मुक्तिनाथ फाउन्डेसनले चौथो वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

सामाजिक र आर्थिक रुपमा पछाडि परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले स्थापित मुक्तिनाथ फाउन्डेसनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

२०७८ असोज १ गते दर्ता भएको यस मुनाफा वितरण नगर्ने संस्थाले आफ्नो उद्देश्यअनुसार लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्दै सामाजिक क्षेत्रमा सक्रियता देखाउँदै आएको छ। यसअघि संस्थाले बागमती सरसफाई, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका लगायत विभिन्न स्थानमा वृक्षारोपण, वृद्धवृद्धालाई सम्मान तथा खाद्य सामाग्री वितरण जस्ता सामाजिक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।

चौथो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कुल ८० पोका रगत संकलन गरिएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। साथै, मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. र विन्द्यवासिनी म्यूजिक प्रा.लि.को सहभागिता र समन्वयमा कार्यक्रम सफल भएको थियो।

संस्थाले सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै लक्षित समुदायको सशक्तिकरणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।