नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको जेनजी युवा आन्दोलनमा गोली हान्ने आदेश आफूले नदिएको स्पष्ट पारेका छन्। संविधान दिवसको अवसरमा जारी गरेको वक्तव्यमा ओलीले घटनाको गम्भीर छानबिन आवश्यक रहेको बताएका छन्।
ओलीले भने, “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। आन्दोलनमा प्रयोग भएको स्वचालित हतियारको प्रयोग र त्यसको छानबिन गर्नुपर्छ।”
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो। मृतकमध्ये अधिकांशको टाउको र छातीमा गोली लागेको थियो। ओलीले यस घटनाप्रति दु:ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले संविधान २०७२ लाई नेपाली जनताको संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको र लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताको अधिकार स्थापित गर्ने माइलस्टोन भएको पनि स्मरण गराएका छन्।
वक्तव्यमा ओलीले सिंहदरबार जलाउने, नेपाल नक्सा जलाउने, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय तथा व्यक्तिगत सम्पत्ति क्षति पुर्याउने घटनालाई पनि औँल्याएका छन्। उनले भने, “हाम्रो देश बनिरहेको थियो कि बिग्रिरहेको थियो, वा असन्तोष फैलाउन मात्र प्रयास गरिएको थियो, समयले नै स्पष्ट पार्नेछ। हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्नेछ।”
अन्तमा ओलीले सबैलाई संविधान र सार्वभौमसत्ताको रक्षा गर्न एकजुट हुन अपील गरेका छन्।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            