सिद्धार्थ प्रिमियरले जेनजी आन्दोलन पीडितको बीमा भुक्तानी छिटो गराउँदै

जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा, तोडफोड र आगजनीका कारण क्षति व्यहोरेका बीमितहरूलाई सकेसम्म छिटो बीमा दाबी भुक्तानी सुरु गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जनाएको छ। कम्पनीले ‘दुःखद घडीमा भरोसाको सहारा’ नारा दिँदै तत्काल आवश्यक कागजातसहित दाबी गर्न ग्राहकलाई आग्रह गरेको छ।

कम्पनीको विज्ञप्तिमा राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा अर्बौँ रुपैयाँको क्षति भएको प्रारम्भिक मूल्याङ्कन उल्लेख छ। नेपालका विभिन्न बीमा कम्पनीमा उल्लेख्य संख्यामा दाबी दर्ता भइरहेका अवस्थामा सिद्धार्थ प्रिमियरले छिटो र पारदर्शी फर्छ्यौटको प्रतिबद्धता व्यक्त गरेको हो।

भदौ २४ गतेको आगजनी र हुलदंगापछि भोलिपल्टैदेखि कम्पनीका उच्च अधिकारी र सर्भेयर टोलीले क्षति भएको सम्पत्तिको निरिक्षण तथा प्रारम्भिक सर्वेक्षण थालेको कम्पनीले जनाएको छ। हालसम्म प्राप्त दाबीको फर्छ्यौट र भुक्तानी प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको कम्पनीको दाबी छ।

साथै, आन्दोलनका क्रममा क्षति भए पनि अहिलेसम्म जानकारी नगराएका बीमितहरूलाई छिटो शाखा, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी दाबी दर्ता गर्न कम्पनीले आह्वान गरेको छ। गत वर्षको बाढी–पहिरोका कारण निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी भुक्तानी गरेको अनुभव दोहोर्‍याउँदै यसपटक पनि शिघ्रता र पारदर्शितासहित दाबी फर्छ्यौट गर्ने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ।