दुई महिनामै ३३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा करिब ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता भएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार कुल २३६ परियोजनामा सो बराबरको लगानीको प्रतिवद्धता आएको हो।

साउन महिनामा मात्रै १२७ परियोजनामा २४ अर्बभन्दा बढीको लगानीको प्रतिवद्धता आएको थियो भने भदौमा थप १०९ परियोजनाबाट ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको प्रतिबद्धता भएको छ। लामो समयदेखि सुस्त रहेको वैदेशिक लगानीमा पछिल्ला संकेत सकारात्मक देखिएका विभागको निष्कर्ष छ।

लगानीमध्ये १४३ परियोजना अटोमेटिक रुटमार्फत दर्ता भएका छन्। परियोजना आकारअनुसार ७ वटा ठूला, ४ वटा मध्यम र २२५ वटा साना तथा मझौला उद्योगमा लगानी आउनेछ। भदौमा मात्रै ५ ठूला, ४ मध्यम र १०० साना-मझौला उद्योगका लागि प्रतिबद्धता आएको छ।

उक्त अवधिमा १७ प्रविधि हस्तान्तरण सम्झौता र शेयर खरिद/सब्स्क्रिप्सनमार्फत थप २ अर्ब ५० करोडको लगानी प्रस्ताव आएको छ। यी परियोजना सञ्चालनमा आए ३३ हजार ८१४ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ।

क्षेत्रगत हिसाबले कृषि क्षेत्रमा सबैभन्दा ठूलो लगानी प्रतिवद्धता आएको छ। कृषि क्षेत्रमा मात्रै २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँको प्रतिबद्धता ९ परियोजनाबाट भएको हो। नेपालका जैविक विविधता, उब्जनी क्षमताको सुधार र निर्यात योग्य उत्पादनको सम्भावनाले विदेशी लगानीकर्तालाई आकर्षित गरेको विश्लेषकको भनाइ छ।

परियोजनाको संख्यामा भने सूचना प्रविधि (आईटी) क्षेत्र अगाडि छ। यस क्षेत्रमा १२० परियोजनाबाट ५६ करोड २७ लाख ५४ हजार रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ। धेरैजसो परियोजना स्टार्टअप प्रकृतिका रहेको विभागको भनाइ छ।

त्यस्तै पर्यटन क्षेत्रमा ७९ परियोजनाबाट ६ अर्ब ६९ करोड २० लाख ५० हजार, सेवा क्षेत्रमा १५ परियोजनाबाट २ अर्ब ८१ करोड ५० लाख र उत्पादन क्षेत्रमा १२ परियोजनाबाट १ अर्ब २४ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार हालसम्म नेपालमा कुल ७ हजार ४७५ परियोजनाका लागि ६ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता दर्ता भइसकेको छ।