नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत विधि स्थगित

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाउने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनपछि मंगलबारदेखि यो विधि स्थगित गर्न लागिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन्।

भोलि घटस्थापनाको सार्वजनिक बिदा भएकाले बजार बन्द रहनेछ। तर, बिदापछि सूचक गणना अब केवल अन्तिम कारोबार मूल्यको आधारमा हुने छ।

गत चैत ७ गते लागू गरिएको यो प्रणाली अन्तर्गत २ः४५ देखि ३ बजे सम्मको कारोबारको भारित औसत मूल्यलाई सूचकको आधार बनाइन्थ्यो। तर, लगानीकर्ताले यसले बजारमा अनावश्यक उतारचढाव ल्याएको भन्दै निरन्तर आलोचना गरेका थिए।

साथै, नेप्सेको प्राविधिक प्रणाली अटोमेटेड र स्तरीय नभएकाले ब्रोकरहरू पनि यो विधि हटाउनुपर्ने माग गर्दै आएका थिए। त्रुटिपूर्ण र विवादास्पद मानिएको यो गणना विधि हटेसँगै बजार सूचकको गणना पुनः सामान्य प्रक्रिया अनुसार हुनेछ।