अटम टेनिस टुर्नामेन्टको शीर्ष उपाधि विनोद खड्कालाई

बेलायतमा नेपालीहरूद्वारा स्थापित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘अटम टेनिस टुर्नामेन्ट’ को शीर्ष उपाधि विनोद खड्काले जितेका छन्।

शनिबार २० सेप्टेम्बर अल्डर्सटस्थित सैनिक छाउनीको टेनिस सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख उपाधिका निम्ति ‘मिन्स सिङ्गल्स ओपन ए’तर्फ खड्काले प्रकाश गुरुङलाई ६(२ को सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्।

प्रतिकुल मौसमका कारण समयाभाव भएकोले ‘बेस्ट अफ थ्रि’को सट्टा निर्णायक एक सेट खेलाइएको थियो।

त्यसैगरी प्रतियोगिताको अन्य समूहबीच भएको प्रतिस्पर्धामा ‘मिन्स सिङ्गल्स ओपन बी’तर्फको फाइनल खेलमा विवेक गुरुङले सन्तोष गुरुङलाई पराजित गरे। ‘ओपन सी’तर्फ अल्मोशकुमार सुनुवारले हर्क तामाङलाई पाखा लगाए।

४५ वर्षभन्दा माथि भेटेरान्सतर्फको फाइनल खेलमा कृष्ण थापा मगरले पञ्च पुनलाई ६(२ को अन्तरले पराजित गरे।

त्यसैगरी, ५५ माथितर्फ नमराज गुरुङले मोहन गुरुङलाई पराजित गरे। यसका साथै, नोभाइसतर्फ सञ्जय थापाले आर्य शाहलाई पराजित गरे।

‘मिन्स डबल्स ए’तर्फ नेल पुन र सन्तोष पुनको जोडीले कैलाश गुरुङ र पेण्डुलाल राईको जोडीलाई पराजित गरे। त्यसैगरी बी तर्फ ललित मल्ल र दिपक गुरुङको जोडीले सरोज राई र हर्क गुरुङको जोडीलाई हराए।

महिलातर्फ नविना गुरुङले यास्मिन गुरुङलाई पराजित गरिन्।

प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरेका थिए। कार्यक्रम क्लबका सचिव मोहन गुरुङले सञ्चालन गरेका थिए।

प्रतियोगितामा पुरुष र महिला गरी करिब ६ दर्जन नेपालीको सहभागिता थियो। प्रतियोगितालाई सनसाइन मोर्गेजले प्रायोजन गरेको हो।