नेपाल टेलिकमले नेपालीहरूको महान् पर्व दसैं, तिहार र छठको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो योजना २०८२ असोज ६ गतेदेखि लागू हुनेछ।
टेलिकमका अनुसार नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क रु. ५०० मिनाहा गरिनेछ। यो सुविधा असोज ६ गतेदेखि ३१ गतेसम्म उपलब्ध हुनेछ।
मोबाइल सेवाका लागि पनि आकर्षक प्याकेजहरू ल्याइएका छन्। जीएसएम प्रयोगकर्ताले रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेज र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज खरिद गर्न सक्नेछन्। Fair Usage Policy (FUP) अनुसार निर्धारित डाटा समाप्त भएपछि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न पाइनेछ।
यसैगरी, रु. २५० मा १,००० मिनेटको ‘जोयफूल मिनेट्स’ भ्वाइस प्याकेज र रु. ९९ मा १,००० अन–नेट एसएमएससहितको ‘फेस्टिव म्यासेज’ प्याकेज पनि उपलब्ध छन्। यी प्याकेज प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म मान्य हुनेछन्।
जीएसएम सेवाका प्याकेजहरू असोज ६ देखि २० र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन्। ग्राहकहरूले *141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी अफर सजिलै प्राप्त गर्न सक्नेछन्।
टेलिकमका अनुसार यो अफरको उद्देश्य चाडपर्वको समयमा ग्राहकलाई आफन्तसँग जोड्ने र डिजिटल सेवाको उपयोग बढाउने हो।
