दशैंको सुरुवातसँगै सुरु भएको अविरल वर्षाले देशभरको यातायात व्यवस्था अवरुद्ध बनेको छ। ५ वटा राजमार्ग पूर्ण रूपमा बन्द र ७ सडक एकतर्फी सञ्चालनमा आएका कारण यात्रुहरू गन्तव्यमा पुग्न नसकी बीच बाटोमै रोकिएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान ९ बजेसम्म कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला–बरुण र मकालु–एकुवा खण्ड, रसुवाको गोसाइकुण्ड–नेपाल–चीन नाका पुल, र पासाङ ल्हामु राजमार्गको बालुवाखानी खण्डमा सडक पूर्णरूपमा अवरुद्ध छन्।
त्यस्तै सिन्धुपाल्चोकको कोदारी (अरनिको राजमार्ग) र मुग्लिन–नारायणगढ सडकखण्डमा पनि पहिरो र बाढीको असर देखिएको छ। मुग्लिन सडक खण्ड अहिले केवल एकतर्फी सञ्चालनमा छ, रातिको समयमा भने जोखिमका कारण आवागमन रोकिएको थियो।
सुरक्षाकर्मी र प्राविधिक टोलीले सडक खुलाउने कार्य तीव्र पारिरहेका छन्। ट्राफिक प्रहरीले यात्रुहरूलाई मौसम र मार्गसम्बन्धी जानकारी लिएर मात्र यात्रा सुरु गर्न अनुरोध गरेको छ।
