अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदुत डीन आर. थम्पसनबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपालको वर्तमान परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा प्रदान गर्न सक्ने सहयोगका विषयमा छलफल गरिएको थियो। अर्थमन्त्री खनालले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नु, पुनर्निर्माण योजना अघि बढाउनु र सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोवल बढाउनु वर्तमान सरकारको मुख्य कार्य भएको बताए।
अमेरिकी राजदुत थम्पसनले हालैका घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दै एमसीसीको सहयोगमा संचालित एमसीए परियोजनाहरु समयमै सम्पन्न गर्न सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताए।
अर्थमन्त्री खनालले परियोजनाको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट ढिलाइ नहुने विश्वास दिलाए। साथै उनले अमेरिकी सहयोगको निरन्तर उच्च सराहना गर्दै भविष्यमा समेत सहयोग जारी रहने आशा व्यक्त गरे।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदूतावासका अन्य प्रतिनिधिहरू पनि उपस्थित थिए।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            