नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको बिक्री बढाउन तत्काल ऋण नीतिमा फेरबदल गर्न सरकार र राष्ट्र बैंकलाई आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले दसैं–तिहार जस्ता चाडपर्वमा गाडीको व्यापार उल्लेख्य रूपमा घट्दा राजस्व संकलनमा चुनौती थपिएको बताए।
हाल राष्ट्र बैंकले गाडी खरिदका लागि ६० प्रतिशतसम्म मात्र ऋण दिने व्यवस्था गरेको छ। यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल तथा डिजेलबाट चल्ने गाडीमा ५० प्रतिशत ऋणको प्रावधान थियो। अटो व्यवसायीहरू भने विद्युतीयसहित सबै प्रकारका गाडीको ऋण सीमा ८० प्रतिशत पुर्याउन माग गर्दै आएका छन्।
“अटो क्षेत्रले देशको कुल राजस्वमा ठूलो योगदान गर्दै आएको छ। तर आन्दोलनका कारण दसैंको समयमा हुने ६० प्रतिशतसम्मको विक्री घट्दा राजस्वमा ठूलो प्रभाव पर्न सक्छ,” चौधरीले चेतावनी दिए। उनका अनुसार गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरू अनिवार्य खर्चका लागि रकम बचत गर्न बाध्य भएका छन्।
चौधरीले विद्युतीय गाडीको संख्या बढ्दै गएको उल्लेख गर्दै व्यवसायीले चार्जिङ स्टेशन स्थापना गर्न नेपाल विद्युत प्राधिकरणले आवश्यक ट्रान्सफर्मर उपलब्ध गराउनुपर्ने माग पनि गरे। उनले थापाथलीस्थित अटो हब आन्दोलनका कारण पूर्ण रूपमा प्रभावित भएको र उत्तरी नाकाबाट गाडी ल्याउने आपूर्ति शृंखला अवरुद्ध भएको जानकारी दिए।
“कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्नासाथ बाटो बन्द हुन्छ। सरकारले तत्काल सडकको अवस्था सुधार गर्न गम्भीर हुनुपर्छ,” उनले भने।
नेपालमा हाल दुईपांग्रे र चारपांग्रे गाडीको एसेम्बल उद्योग विस्तार हुँदै गएको छ। ब्याट्री, टायर र केही स्पेयर पार्ट्स उत्पादन हुने क्रम बढिरहेको बताउँदै चौधरीले स्थानीय उत्पादनलाई एसेम्बल उद्योगसँग जोड्ने नीतिगत व्यवस्था बनाउन सरकारलाई आग्रह गरे।
