चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। साउन र भदौ महिनामा मात्रै डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल नेपाल भित्रिएका हुन्।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत वर्षको समान अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयातमा १ अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको छ। आयात वृद्धि संगै सोही अवधिमा राजस्व संकलनमा पनि १ अर्ब २९ करोड रुपैयाँले वृद्धि भएको छ।
गत वर्षको पहिलो दुई महिनामा पेट्रोलियम पदार्थबाट ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु वर्षमा ११ अर्ब १८ करोड रुपैयाँको राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
यस अवधिमा ११ अर्ब ९१ करोड रुपैयाँको १,३२,८२४ किलो लिटर डिजेल आयात हुँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। गत वर्षको समान अवधिमा १० अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा ५ अर्ब १२ करोड रुपैयाँको ४ करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात भएको छ। यसबाट ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
