टान अध्यक्ष पाण्डेको आग्रह– निजी क्षेत्रदेखि राज्यसम्म सच्चिने बेला

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र र सरकारी संयन्त्र दुबैमा सुधारको आवश्यकता औंल्याएका छन्। नाफिजले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले हालैको जेनजी आन्दोलन केवल सरकारविरुद्ध मात्र नभई निजी क्षेत्रलाई समेत सन्देश दिने खालको भएको बताए।

पाण्डेका अनुसार आन्दोलनको स्वरूपले निजी क्षेत्रको भ्रष्टाचार र राज्यसँगको नेक्ससतर्फ पनि प्रश्न उठाएको छ। “करप्सनको विरुद्धमा भएको जेनजी आन्दोलनले देखाउँछ, हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ,” उनले भने।

पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न सरकारले तत्काल प्रभावकारी ‘रिकभरी प्लान’ ल्याउनुपर्ने सुझाव पाण्डेले दिए। जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनः उठाउन तीन महिनाका लागि पर्यटकलाई भिसा फ्रि गर्ने पहल गर्नुपर्नेमा उनले जोड दिए।

नेपालमा गुणस्तरीय रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएको पाण्डेले बताए। “बीएचएम गरेका युवालाई नेपालमा १७ हजारको जागिर दिन्छौं, त्यसैले उनीहरू कतार, मलेसियामा जान्छन्,” उनले भने। “गुणस्तरीय रोजगारीको अभाव नै आर्थिक विकासको मुख्य समस्या हो।”

उनले सरकारी संयन्त्रमा जवाफदेहीता र पारदर्शिता नहुँदा आर्थिक गतिविधि सुस्त भएको उल्लेख गर्दै राज्यले जिम्मेवारीपूर्वक काम नगरेसम्म सुधार सम्भव नहुने धारणा व्यक्त गरे। पाण्डेले भ्रष्टाचार सरकारी क्षेत्र मात्र नभई निजी बैंकिङसम्म फैलिएको दाबी गर्दै आर्थिक कारोबारमा पूर्ण पारदर्शिता आवश्यक रहेको बताए।

पर्यटनको तथ्यांकबारे असन्तुष्टि जनाउँदै उनले सन् १९९८ मा नेपालमा ४ लाख ६३ हजार पर्यटक आएकोमा अहिले ११ लाख ५० हजारमा मात्रै पुगेको उल्लेख गरे। “प्रत्येक वर्ष मात्र करिब २५ हजारको वृद्धि हुनु सुस्त गति हो,” पाण्डेले भने।

पर्यटन बढाउन शान्ति–सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पूर्वाधारको स्तरोन्नति र दीर्घकालीन योजनामा राज्य गम्भीर हुनुपर्ने सुझाव उनले दिए। पाण्डेका अनुसार अहिलेको पर्यटन क्षेत्र बहुदलपश्चातको कुपोषित बच्चाजस्तै छ, जसलाई प्रभावकारी नीति र पारदर्शितामार्फत मात्र पुनर्जीवित गर्न सकिन्छ।